Public Pana
माओवादी  केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम  ?

घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ। 

कुनै समय माओवादी जनयुद्धका चर्चित कमान्डर रहेका खाम जनयुद्धबाटै उठेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पक्राउ गरेको हो। 

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरिरहँदा लगातार माओवादी केन्द्रका नेताहरु पक्राउ परिरहेका छन्। केही समयअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भेपमार्फत सुन तस्करीमा संलग्न भएको भनी अनुसन्धानका लागि पक्राउ परेका थिए। 

उनी बयान सकेर हाल रिहा भएका छन्। त्यसको केही समयपछि नै जनमुक्ति सेनाको तेस्रो डिभिजनको कमान्डरको रुपमा जनयुद्धमा सफल कमान्डरको छवि बनाएका  खाम कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका हुन्। 

खाम शान्ति प्रक्रियामा आएपछि धेरै विवादहरुमा तानिँदै आएका थिए। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको चितवनको शक्तिखोरमा अपहरण गरेर राखी यातना दिएर हत्या गरेको अभियोगमा अहिले उनलाई पक्राउ गरिएको हो। खाम त्यस बाहेक हातहतियार खरखजाना, डाँका चोरी र सरकारी छाप दस्तखत कीर्तेमा पनि विवादमा तानिएका थिए। 

उनी एकपछि अर्को विवादमा परिरहे तर माओवादी केन्द्र सधैँ सत्तामा रहँदा उनी फरार हुँदै उम्कँदै आएका थिए। तर अहिले सरकारले उनलाई पक्राउ गरेको छ। अब उनी सुरुमा रामहरि श्रेष्ठ हत्यामा सजाय भोग्नेछन्।  

चितवन जिल्ला अदालतमा मुद्दा दायर भए लगत्तै फरार रहेका उनी सम्पर्कमै नआएपछि मुद्दा मुल्तवीमा राखिएको थियो। हत्यामा संलग्न आरोपी ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटाला थुनामुक्त भइसकेका छन्।

जिल्ला अदालत चितवनले २०६८ चैत १७ मा बटालालाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सर्वोच्च अदालतले उनलाई सफाइ दिएको थियो। उनलाई सफाइ दिने निर्णय विरुद्ध भने सरकारले पुनरावेदन दर्ता गराएको छ। उक्त पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको छ। सर्वोच्चले सफाइ दिएको र सरकारले पुनरावेदन गरेको भए पनि वटाला आफूलाई भएको ३ वर्ष १५ दिन कैद भुक्तान गरेर छुटेका छन्।   

तर, खामको हकमा भने सुरुमै मुल्तवीमा बसेको थियो।  जिल्ला अदालत चितवनले त्यसबेला खाम फरार रहेको भन्दै मुद्दा मुल्तबीमा राखेको थियो। अब उनी पक्राउ परेकाले मुल्तबीबाट मुद्दा जगाएर सुनुवाइ अघि बढ्नेछ। जिल्लाले पून सुनुवाइ अघि बढाउँदै खामलाई सफाइ दिने वा दोषी ठहर गर्नेबारे निर्णय सुनाउनेछ। जिल्लाले सुरुमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ। 

जिल्लाले मुल्तबीबाट जगाएर थुनछेक बहसमा धरौटी माग गरेमा उक्त धरौटी रकम बुझाएर उनी रिहा हुनेछन्। यदि जिल्लाले पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेमा भने उनी थुनामै बस्नेछन्। 

यस्तो थियो घटना 
२०६५ वैशाख १५ गते कोटेश्वरबाट तत्कालीन माओवादी निकट रहेका व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिइयो। श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी भएपछि उनीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो। 

श्रेष्ठको घरबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्‍याइएको थियो।   

अत्यधिक कुटपिटबाट मृत्यु भएपछि २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा उनको शव फ्याँकिएको थियो। उनको मृत्युपछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण भई हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। 

बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की घटनामा संलग्नता भएको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो। उक्त मुद्दामा सुनुवाइ गर्दै २०६८ जेठ १७ गते फैसला भयो।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो। जिल्लाको फैसलापछि बटाला थुनामा गएका थिए।

त्यस्तै अर्का प्रतिवादी कार्कीलाई २० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाइएको थियो। सरकारी वकिलले बटालालाई अभियुक्तको रुपमा प्रस्तुत गर्दै जन्मकैद हुनुपर्ने माग अभियोगपत्रमा गरेको थियो। मुख्य अभियुक्त नभई ‘मार्ने ठाउँमा गई अरु केही नगरी हेरिबसेको ठहर गर्दै उनलाई सो सजाय गरिएको थियो।

बटालाले आफूले १७ लाख र एक पेस्तोल हराएको घटनाको अनुसन्धानका लागि व्यवसायी श्रेष्ठ, अधिकारी र थापालाई नियन्त्रणमा लिएको स्वीकारेका थिए। साथै, बाहिरबाट ढोका बन्द गरी यी तीनै जनालाई एकै कोठामा राखेकोमा अधिकारी र थापाको कुटपिटबाट श्रेष्ठको ज्यान गएको दाबी गरेका थिए।

जिल्लाको फैसला विरुद्ध सरकारी पक्षले पुनरावेदन गरेपछि २०७० माघ ५ गते जिल्लाकै फैसला सदर हुने फैसला भएको थियो। सरकारी पक्षले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेको थियो। ५ माघ २०७० मा पुनरावेदन अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माले जिल्ला अदालतका सबै फैसला सदर गरेका थिए।

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च आएका थिए। उक्त मुद्दामा सर्वोच्चले २०७६ फागुन १८ गते बटालालाई सफाइ दिने फैसला सुनाएको थियो। काठमाडौंबाट शक्तिखोर पुर्‍याएपछि सोधपुछका क्रममा श्रेष्ठले चोरीको घटनामा अधिकारी, थापा र आफ्नो संलग्नता स्वीकारेको बयान बटालाले अदालतमा दिएका थिए।

सोधपुछपछि तीनै जनालाई एउटै कोठामा राखेकोमा आफूहरुको पोल खुलाइदिएको भन्दै अधिकारी र थापाले कुटपिट गर्दा श्रेष्ठ गम्भीर घाइते भएका र उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बटालाले बताएका थिए।

श्रेष्ठको मृत्युबारे जानकारी दिनका लागि आफू फोन गर्न गाडीबाट झरेको अवस्थामा अधिकारी र थापाले श्रेष्ठको शवलाई नारायणी नदीमा फ्याँकी फरार भएको उनले बताएका थिए।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update