Public Pana
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित

एजेन्सी-  साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।

खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले चार चौका र ३ छक्का हिर्काए। 

चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए। त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए। दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए। त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे। 

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो। वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए।

ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए। चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए।  

यो सिजन दिल्लीको यो पहिलो जीत हो भने चेन्नईको पहिलो हार। ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ। २ अङ्कसहित दिल्ली सातौँ स्थानमा सीमित छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update