Public Pana
सिट बाँडफाँडमा अझै कुरा मिलेन, दलहरुको अडान कायमै

 

पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ ।  

    बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने उहाँले बताउनुभयो ।

    बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उहाँले बताउनुभयो । 

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update