Public Pana
नेपाल ए र आयरल्याण्ड ए प्रतिस्पर्धा गर्दै, बर्षाले खेल प्रभावित हुन सक्ने  

काठमाडाै-  नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।  नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।
दुबै टोलीलाई वर्षाको डर छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना रहेकाे भनेकाले खेल प्रभावित हुने आश‌का गरिएकाे छ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी–२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा शानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो । 

नेपाल ए को टी–२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् । चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् । उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन् । दोस्रो टी–२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

नेपालको टी–२० टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update