Public Pana
कर्णालीमा हामफालेर बेपत्ता भएका युवकको शव  भेटियो

काठमाडाै- होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ।   शाहीको शव टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा बिहीबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्रसिंह कार्कीले  बताए।

उनका अनुसार शव भेटिएको स्थानमा मुचुल्का उठाउने काम भइरहेको छ। शव भेटिएपछि उनका आफन्तलाई खबर गरेर झिकाइएको कार्कीले बताए।   होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएपछि खोजी तीव्र बनाइएको थियो।  शाहीको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो। कर्णालीमा हामफालेलगत्तै डुबेका शाहीको तत्कालै उद्धार हुन नसक्दा डुब्न पुगेका थिए। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update