Public Pana
श्री एयरलाइन्सले भित्र्यायो ८० सिटे २ बम्बार्डियर जहाज

श्री एयरलाइन्सले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुईवटा जहाज नेपालमा ल्याएको छ।  संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरु श्रीले नेपालमा भित्र्याएको हो। 

जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरुभन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावरयुक्त छन्।  उक्त जहाजहरु श्री एयरलाइन्सका पाइलटहरुले संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण भएका छन्। 

 

कम्पनीका अनुसार  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पूरा गरी उक्त विमानहरुबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा उडान थप गरी भरपर्दो सेवा सुचारु रुपले सञ्चालन गर्दै जाने  उल्लेख गरेको छ।  

सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आरजे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो।  सुरुमा काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाइ सेवा सञ्चालन गरेको थियो। सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडा निर्मित क्वी४०० ड्यास ८ विमानहरुबाट थप पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा मा समेत सेवा विस्तार गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update