Public Pana
जब कर्णाली पुलवाट  हामफालेका १७ मध्ये एकले ज्यान  गुमाए 

काठमाडाै- कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफाले।
होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेर हेलिए।
त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए। 

होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए। केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले।

अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे।

कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए।

ती युवक डुबिरहेको दृश्य कैलालीकी पत्रकार इन्दु केसीले कैद गरिरहेकी थिइन्। उनले कैद गरेको भिडिओमा हेर्दा हेर्दै ती युवक कर्णालीमा बिलाउन पुगे। 

'जिन्दगीमा साह्रै ठूलो पछुतो रह्यो। आँखैअगाडि यसरी हाम फालेको देखियो, हाफफालेका १७ जनामध्ये एक जना बेपत्ता भए', इन्दुले पछुतो मान्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेर भनेकी छन्, 'प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परेँ। हामफाल्दैछ्न भन्ने थाहा पाउनेबित्तिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हामफाले। समयमा खबर गरेको भए सायद घटना हुने थिएन कि!'
तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्। 

उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्। 
यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक हुन् कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएको पुष्टि गरे। 
'बेपत्ता भएका लोकेन्द्रको डुंगासहित सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छ', उनले भने, 'तर अहिलेसम्म उनको अवस्था खुलेको छैन।'
कर्णाली पुलको दायाँबायाँ मानिसहरू चढेर सजिलै हामफाल्न सक्ने बार छ। उक्त बारमा झुन्डिँदै युवाहरू जोशिएर कर्णालीमा हामफाल्ने गर्छन्। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update