Public Pana
आजदेखि आईपीएल शुरु हुदै  पहिलाे खेलमा  चेन्नईलाई बैंग्लुरुको चुनौती

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ ।  

त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने समाचारमा जनाइएको छ ।  

उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने भएका छन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ ।  

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।   

भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।

प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । 

यद्दपि, बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गर्दै आएका छन् । लोकसभा चुनावको मिति घोषणापछि बीसीसीआईले बीसीसीआईले आईपीएलको दोस्रो चरणको खेल तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ । 

भारतीय निर्वाचन आयोगले लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गत शनिबार गरिसकेको छ । आयोगका अनुसार, लोकसभा चुनाव अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update