Public Pana
बयान दिएर निस्कँदै विनोद चौधरीले भने- स्टन्टबाजहरुलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन

काठमााडाै- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको आरोप लगाएका छन्। चौधरीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।

राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै उनले नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए। आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको उल्लेख गरे।

उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए। सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए।  

 

आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताउँदै उनले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नवीनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको उल्लेख गरे। १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर उनले गरे।

चौधरीले भने, ‘हिजो गोप्य पत्रको नाममा म संसद्‌मै थिएँ। संसद्‌मा हुँदाहुँदै तीन मिनेट भित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरु रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने स्पष्ट भएको स्थिति छ। मैले यो विषयमा कुरा उठ्ने बित्तिकै मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरु राखेँ। जुन पब्लिकली बाहिर आए। म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानून बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरु राखेँ। मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ।’ 

 

उनले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताए। सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update