Public Pana
एकिकृत समाजवादीले साेध्याे दिपक मनाङेलाई स्पष्टीकरण

काठमाडाै- गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकै आधारमा मन्त्री भएपछि उनलाई दलले स्पष्टीकरण साेधेकाे हाे । 

मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे २०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए । मनाङे आफ्नो दलको सांसद रहेको भन्दै एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो । सो पत्रअनुसार नै मनाङे आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा थिए ।

तर, आइतबार उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए   सचिवालयले  कुनै निर्णय नगर्दै उनी मन्त्री भएपछि दलले कारवाही गरेकाे हाे ।

 मनाङेले दिएको निवेदनलाई कुन कानुनी आधारमा अगाडि बढाउने भन्नेमा सचिवालय अनिर्णीत नै छ । 

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सम्बन्धित दल नेकपा एसको आधिकारिक पत्र आएपछि निवेदनमाथिको प्रक्रिया अगाडि बढ्ने छ  । दल त्याग गरेकै विषयमा बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मनाङेमाथि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ आकर्षित हुने दावी एकिकृत समाजवादीकाे छ । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update