Public Pana
बन्दुकसहित सर्वाेच्चमा पक्राउ परेका दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन सर्वाेच्चकाे आदेश 

काठमाडाै- व्यवसायी दुर्गा प्रसाईंकाे बडिगार्डकाे रुपमा सर्वाेच्च प्रवेश गर्दा पेस्ताेल र गाेलीसहित पक्राउ परेका  दुईजनाकाे हकमा  सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन  आदेश गरेकाे छ। 

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकाा २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौं ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वाेच्चकाे आदेशमा भनिएकाे छ।  उनीहरुलाई मुद्दा चलाउन लागेकाे  र थुनामा राख्नु गैर कानुनी भएकाे भन्दै  परिबारका तर्फवाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो।  

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७  वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्। उक्त रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन्। 

उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन्। सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका ती दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो। 

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका क्रममा उनका बडिगार्डहरू हतियार लिएर प्रवेश गरेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update