काठमाडाै- सन् २०२३ मा विश्वका १२४ वटा देश प्रदूषित भएको रिपोर्ट सार्वजनिक भएको छ । वायु प्रदूषणको विश्वाव्यापीरूपमा मनिटरिङ गर्ने संस्था आईक्यू एयरले मंगलबार वार्षिक रिपोर्ट सार्वजनिक गर्दै सन् २०२३ मा वायु प्रदूषण ‘विश्व स्वास्थ्य प्रकोप’को रूपमा देखिएको जनाएको छ ।
‘आईक्यू एयर वर्ल्ड एयर क्वालिटी रिपोर्ट, २०२३’ मा सन् २०२३ मा बढी प्रदूषित देश, सहर र क्षेत्रको विवरण समेटिएको छ । आईक्यू एयरले १३४ देशका सातहजार ८१२ स्थानमा राखिएको ३० हजारभन्दा धेरै स्टेसनबाट संकलित विवरणका आधारमा रिपोर्ट तयार पारिएको जनाएको छ । जसमा अफ्रिका महादेशको तथ्यांक भने समेटिएको छैन ।
रिपोर्टअनुसार सन् २०२३ मा सातवटा मुलुक मात्रै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को वायुको गुणस्तर मापदण्डभित्र परेका छन् । डब्लूएचओले वायुमा पीएम २.५ (पर्टिकुलेट म्याटर) औसतमा दैनिक पाँच माइक्रोग्राम प्रति क्युबिक मिटर भन्दा बढी हुन नहुने मापदण्ड राखेको छ ।
पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
डब्लूएचओको मापदण्डभित्र अस्ट्रेलिया, इस्टोनिया, फिनल्यान्ड, ग्रेनेडा, आइल्यान्ड, मौरिसस र न्युजिल्यान्ड मात्रै परेका छन् । तथ्यांक संकलन भएकामध्ये ९२ प्रतिशत अर्थात् १२४ मुलुकमा पीएम २.५ को मात्रा डब्लूएचओको भन्दा निकै उच्च रहेको रिपोर्टमा उल्लेख छ ।
पोर्टअनुसार पाँचवटा देशलाई अति प्रदूषितको सूचीमा राखिएको छ । जसको पहिलो नम्बरमा बंगलादेश छ । बंगलादेशको वार्षिक औसत पीएम २.५ को मात्रा ७९.९ अर्थात् डब्लूएचओको मापदण्डभन्दा १५ गुणा बढी भएको पाइएको छ ।
दोस्रोमा रहेको पाकिस्तानमा सो मात्रा ७३.७ अर्थात् १४ गुणा बढी, तेस्रोमा भारत ५४.४ मापदण्डभन्दा १० गुणा बढी रहेको छ । अति प्रदूषित देशको चौँथो नम्बरमा रहेको ताजिकिस्तानमा पीएम २.५ को मात्रा ४९ अर्थात् डब्लुएचओको मापदण्डभन्दा ९ गुणा बढी पाइएको छ ।
पाचौँ नम्बरमा रहेको बुर्किना फासोमा ४६.६, अर्थात् मापदण्डभन्दा ९ गुणा बढी रहेको रिपोर्टले देखाएको छ ।
मापदण्डअनुसार नेपाल प्रदूषित मुलुकको आठौँ नम्बरमा परेको छ । नेपालमा पीएम २.५ को औसत मात्रा ४२.२ रहेको रिपोर्टमा उल्लेख छ । अति प्रदूषित सहरहरूमा मध्य तथा दक्षिण पूर्वी एसियाली सहर छन् ।
यस्तै, अमेरिकाका कोलोम्बस र बेलोइट सहर अति प्रदूषितको सूचीमा छ भने अमेरिकाकै सी भेगस सफा सहरमा सूचीकृत छ ।
उत्तरी अमेरिकामा क्यानडा सबैभन्दा प्रदूषित देशमा सूचीकृत भएको छ । क्यानडा अति प्रदूषित सूचीमा पर्नु इतिहासमै पहिलो रेकर्ड भएको आईक्यू एयरले जनाएको छ । क्यानडाका १३ वटा सहर मापदण्ड क्रस गरेको पाइएको छ ।
मध्य तथा दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनको असर बढी रहेको र वायु प्रदूषणको मुख्य कारण पनि यही रहेको रिपोर्टमा भनिएको छ ।
विश्वका धेरै देशमा सरकारका तर्फबाट तथ्यांक संकलनको प्रभावकारी उपाय नअपनाइएको र भएका तथ्यांकका आधारमा सरकारी नीतिहरू पनि नअपनाइएको रिपोर्टको निष्कर्ष छ ।