Public Pana
संसदीय छानबिन समितिको माग गरेपछि गृहमन्त्री लामिछानेले भने– ‘कांग्रेस दूधले नुहाएको पार्टी होइन’

काठमाडाै- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन्।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गरे। उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए।  

 

उनले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौति दिए। उनले कांग्रेसलाई ४ वर्ष नै संसद् रहिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित कांग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने दाबी गरे।  

 

चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने? भन्दै प्रश्नसमेत गरे। 

उनले भने, ‘मैले केही भन्नै पर्दैन नि। कामले बोलिरहेको छैन र? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौं, प्रत्येक दिन गरिएको कामले आफैं बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ। संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो। माग्ने कुरा आफ्नो ठाउँमा छ। कुन ढंगले जान्छ हेरौं। विवाद हुनु र गराइनु फरक छ। विवादबाट मुक्त कहिल्यै हुँदैन। हामी काम गर्न अघि बढेका छौं। कामको संकेत देखिरहनुभएको छ। जुन ढंगले संसद् अवरोध भएको छ। एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन? भन्नेकुरा नेपाली जनताले बुझेका छन्। ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु। हामीले कामले जवाफ दिने हो। कांग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने?’

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update