Public Pana
नगरवासीलाई क्यान्सरवाट बचाउने अभियानमा हाेमिएका मेयर

 

काठमाडौं- ‘जब म नगरपालिकाको मेयरमा निर्वाचित भएर आएँ, यो कुर्सीमा बसेर क्यान्सर भएकालाई एक लाख रुपैयाँ अनुदानका लागि सिफारिस लेखिरहँदा सधैं मेरा हात काँप्थे। मन गरुंगो हुन्थ्यो,’ गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले भने।  

क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गर्छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो। आफू यी कुरामा जानकार रहेकाले त्यस्तो महसुस भएको मेयर रिसाल बताउँछन्।

‘सिफारिस बनाइदिएर मात्र हुँदैन भनेर मैले गोकर्णेश्वर नगरपालिकावाट थप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराएँ,’ उनले भने। नगरपालिकाले थप्ने यो रकम पनि पर्याप्त नभएको उनले बुझेका छन्। तर पाइपाइ संकलन गरेर ज्यान बचाउने लक्ष्यमा रहेका बिरामीलाई यसले राहत दिलाउँछ। नगरपालिकाप्रति अपनत्व महसुस गराउँछ। 

आर्थिक सहयोगले तत्कालीन राहत दिन्छ। तर दीर्घकालीन रुपमै केही गर्न सकिए हुन्थ्यो भन्ने हुटहुटी रिसालको मनमा चलिरह्यो। उनले क्यान्सरको समुदायस्तरमा परीक्षणको अभियान सञ्चालन गर्ने अठोट गरे। नगरपालिकाले क्यान्सर लाग्नै नदिन परीक्षण गर्ने अभियान छेड्ने अनि लागेका मानिसलाई सम्भव भए उपचार गराएर निको बनाउने अठोट रिसालले लिए। नगरपालिकाको सीमित बजेटबाट मात्रै यो काम सम्भव थिएन। त्यसका लागि सहयोगी संस्था खोज्ने क्रममा सारथि बन्न आइपुग्यो आम्दा नेपाल। नगरपालिकाले आम्दा नेपालसँग सहकार्यमा नगरपालिका भित्र समुदाय स्तरमा क्यान्सरको परीक्षण अभियान सुरु गर्‍यो।  

 

‘नगरबासीहरु ३०–६० वर्षका महिलाको स्तन र पाठेघरको क्यान्सर परीक्षण सुरु गरौं भनेर मैले सहकार्यको प्रस्ताव राखें,’ नगर प्रमुख रिसालले भने, ‘हामी कुनै न कुनै बिन्दुवाट प्रवेश गर्नु नै थियो। त्यही भएर महिलाको स्तन र पाठेघर क्यान्सरको परीक्षणलाई रोज्यौं। धेरै क्यान्सरका बिरामी महिला नै आएका कारण मैले उनीहरुलाई छानेको थिएँ।’ 

आम्दा नेपालसँगको सहकार्यमा परीक्षण गर्ने अनि पहिलो चरणमा भएका बिरामीहरुको उपचारमा नगरपालिकाले सहयोग गर्ने सम्झौता भयो। ‘दोस्रो र तेस्रो चरणको क्यान्सरका बिरामी भेटिएमा त कसैको पनि सहयोगले केही नलाग्ने भएकाले सकेसम्म पहिलो चरणमा नै पहिचान गर्ने हाम्रो लक्ष्य थियो,’ रिसालले भने, ‘यसको परीक्षण सुरु नगरपालिकाको ११ वडाका स्वास्थ्य चौकीबाट थालनी भयो। अनि हामीले सँगै नगरपालिका भित्र रहेका महिला समूह र उपभोक्ता समितिमार्फत परीक्षण सुरु गर्‍यौं।’ 

तथ्यांक राख्ने 
परीक्षण पहिला र अहिले उनले तथ्यांकमा निकै फरक देखेका छन्। ‘एक वर्षको अवधिमा निकै घटेको महसुस गरेको छु। पहिले दैनिक एक÷दुई जना बिरामी सिफारिस बनाउन आउँथे,’ उनले भने, ‘किनकि परीक्षणपछि रोगको पहिचान एकै पटक भयो अनि एकै पटक आएर उपचार थालिसके।’

पहिलो चरणमा शंकास्पद देखिएकाहरुलाई फेरि गराइने परीक्षणमा पनि नगरपालिकाले सहयोग गरेको छ। नगरपालिकाले यसरी सञ्चालन गरेको क्याम्पमा २०० जनामा १७ जनामा शंकास्पद भेटिएका थिए। पुनः गरिने परीक्षणमा २१ हजार शुल्क लाग्ने देखियो। कार्यपालिकाबाट निर्णय गराएर सबै शुल्क नगरपालिकाले बेहोरेको थियो। 

‘मैले कतिपय ठाउँमा आफैं पुगेर स्थानीयलाई अनुरोध पनि गरें अनि नगरपालिकाबाट गरेको निर्णयबारे जानकारी गराएँ। जसले गर्दा हामीले केही समयमा तीन हजार मानिसको परीक्षण ग¥यौं,’ रिसालले भने, ‘अहिले फेरि परीक्षणलाई व्यापक बनाउन र क्यान्सरका शंकास्पद मानिसले समयमै उपचार पाउन् भनेर नयाँ नियम लागू गरेका छौं। नगरपालिको आर्थिक सहयोग लिने हो भने अनिवार्य रुपमा क्यान्सरको पूर्व परीक्षण गरेको हुनुपर्ने नियम बनाएका छौं।’ 

यसरी अनिवार्य परीक्षण गर्नुपर्ने र नगरपालिकाको कुनै आर्थिक सहयोग वा समूहलाई कार्यक्रम नदिने निर्णय गर्नुको कारण भनेको धेरैभन्दा धेरैलाई परीक्षणको दायरमा ल्याउनु भएको मेयर रिसालले बताए। 

‘एउटा महिला समूहमा न्यूनतम २५ जना महिला छन्। यो नगरपालिका भित्र ३०० महिला समूह छन्,’ उनले भने, ‘६ हजार महिलालाई एकै पटक परीक्षण गर्दा धेरै शंकास्पद क्यान्सरका बिरामी पहिचान हुन्छन्।’  

यसरी परीक्षण गरेपछि रोग सुरु भएका मानिसलाई उपचार गर्न सहज हुने अनि अन्यलाई परीक्षण अघि बढाउने उनको तयारी छ। महिला समूहसँगै अन्यमा पनि यही शैलीमा परीक्षण गर्दै नगरभरिका सबै मानिसको क्यान्सर परीक्षण गरेर अन्तिम स्टेजमा अस्पताल पुग्दा हुने जीउ–धनको क्षति रोक्ने आफ्नो योजना रहेको उनी बताउँछन्।

शहरीकरणले छोपिसकेको नगरपालिका भएकाले जाँचका लागि ११ वडाको स्वास्थ्य चौकीमै ल्याब सञ्चालन गर्ने क्रम अघि बढेको छ। हाल नगरपालिकाका वडाहरु ३, ४, ५, ६ र ८ मा ल्याब सञ्चालनमा रहेको र बाँकी चार वटा वडामा पनि ल्याब राख्ने तयारी अन्तिम चरणमा रहेको मेयर रिसालले बताए। 

स्वास्थ्य बीमाको आफ्नै मोडल 
एउटा नगरपालिको नेतृत्वले इमान्दारितापूर्वक काम गरेमा आमजनले त्यसको अनुभूति गर्न पाउँछन्। गोकर्णेश्वरमा रिसालले त्यस्तो प्रभाव देखाएको स्थानीय पनि बताउँछन्। 

‘नगरपिता भएर आएपछि सबैको उपचार गर्ने व्यवस्था मिलाउनु मेरो जिम्मेवारी हो। म नगरको मेयर हुनुअघि पनि अस्पतालमा भर्ना गरेपछि उपचार र छुटका लागि भनसुन गराउन धेरै स्थानीयबासी आउँथे,’ उनले भने, ‘यही देखेर मैले स्वास्थ्य बीमा लागू गर्नुका साथै नगर अस्पताललाई स्तरीय बनाउन खोजेको हुँ।’ 

सुरुमा उनले नगर भित्रका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कृषक र खेलाडीहरुको बीमा सुरु गरे। यो सफल रुपमा कार्यान्वयन हुनुका साथै उपचार पनि सफल भएपछि अहिले नगरपालिकाका सबै स्थानीयको बीमा अनिवार्य गराउने अभियान सुरु गरेका छन्।  

अहिले देशभर स्वास्थ्य बीमाको मोडल असफल र विवादास्पद हुँदै गएको छ। तर गोकर्णेश्वर नगरपालिकाले भने यसलाई सफल मोडलको रुपमा तीव्र गतिमा विस्तार गरिरहेको छ। ‘देशभर स्वास्थ्य बीमा असफल हुँदै गएकोले हामीले त्यसमा केही नयाँ विकल्प अपनाएका छौं,’ उनले भने, ‘स्वास्थ्य बीमाको भुक्तानी हरेक तीन÷तीन महिनामा आउने भएकाले त्यसको ब्याकअपका लागि नगरबाट भुक्तानी दिने गरेका छौं।’

जसले गर्दा नगर अस्पताललाई अहिले कुनै आर्थिक संकट नपरेको उनले बताए। नगर अस्पतालले स्वास्थ्य बीमाको करिब एक करोड पाउन बाँकी छ तर अस्पताललाई सञ्चालनमा कुनै तनाव नभएको उनले दाबी गरे। 

त्यस्तै नगरले अहिले मोबाइल क्लिनिक पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसले घरमै पुगेर सबै सेवा दिनेछ। जसले गर्दा अस्पतालसम्म आउन नसक्नेहरुलाई घरमा सेवा हुने मेयर रिसालको दाबी छ। यो वर्षको बजेटमा पहिलो प्राथमिकता नै स्वास्थ्यलाई नगरले दिएको छ। कोभिडको अवस्था देखेर आफूलाई नगर अस्पताल स्तरीय बनाउनुपर्छ भन्ने लागेपछि यसलाई महत्व दिएर बजेट छुट्याएको उनले बताए। 

नगर अस्पतालका निमित्त प्रमुख स्याङ्गवो लामाले मेयर रिसालको मिसन अनि भिजनका कारण नगर अस्पताल अहिले हरेक दिन ४ सय बिरामी उपचार गर्न सफल भएको र त्यसमा त आधा मानिस बीमाकोे कार्ड बोकेर आउने गरेको बताए।  

नगर अस्पतालको पुनःसंरचना
आफ्ना नगरबासीहरुको उपचार सकेसम्म नगर अस्पतालमै गर्ने वातावरण बनाउने गरी नगरपालिका अघि बढेको छ। जसका लागि नगर अस्पतालको पुनर्संरचना अनिवार्य सर्त थियो।

मेयर रिसालले नगर कार्यपालिका बैठकमा स्वास्थ्य आफ्नो प्राथमिकताको क्षेत्र भएकाले त्यसमा उचित बजेट र योजना निर्माण हुनुपर्ने कुरा अघि सारे। गोकर्णेश्वर नगर अस्पतालको पुनर्संरचना उनको पहिलो योजना थियो।  

अहिले नगर अस्पतालमा १५ शय्याको सेवा चलिरहेको छ। दैनिक करिब ४ सयभन्दा बढी सेवाग्राही आउने गरेको नगर अस्पतालका प्रशासन प्रमुख टीकाराम खड्काले बताए। प्रविधिमैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र लगायत सञ्चालनमा छन्।

नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपस्थितिका बाबजुद पनि अस्पतालमा मुटु रोग, स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी लगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाइ बन्ने गरेको स्थानीय सेवाग्राही बताउँछन्।

खासगरी निम्न आय भएका बिरामीका लागि भने यो अस्पतालले धेरै सेवा दिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले बताए।

नगरपालिकाले थप १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गर्न लागेको छ भने अब छिट्ट सय शय्याको अस्पताल निर्माण सुरु हुँदैछ। नगरकै पहलमा जग्गा प्राप्ति गरेर ठेक्का समेत लागेको छ। अबको ६ महिनामा भवन सम्पन्न गरेर एक वर्षभित्र सुरु गर्ने योजना नगरपालिकाको छ।  

नगर अस्पतालले स्थानीयलाई सहज रुपमा सेवा दिन बिहान ७ बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। 
नजिकै रहेका निजी अस्पतालसँग ६० वर्षभन्दा माथिका व्यक्तिलाई ७० प्रतिशतसम्म छुट दिने सम्झौता नगरपालिकाले गरेको छ। नेपाल मेडिकल कलेज, शंकरापुर र अर्र्थाेपेडिक अस्पतालसँग नगरले यस्तो सम्झौता गरेको हो।

नेपाल मेडिकल कलेजले मोतिबिन्दु भएका नगरबासीलाई निःशुल्क उपचार गरिदिने अनि त्यस वापतको रकम नगरले तिर्ने व्यवस्था गरिएको छ। महिलाको पाठेघर सम्बन्धी समस्याको उपचारमा पनि यस्तै व्यवस्था गरिएको छ।

‘नयाँ नगर अस्पतालमा बन्दैछ। यो अस्पताल बनेपछि देशभर भेन्टिलेटर नपाए गोकर्णमा पाइन्छ भन्ने बनाउने सपना छ,’ रिसालले भने।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update