Public Pana
नागरिकलाई ‘हेल्थ कार्ड’  दिने पहिलो नगरपालिका , जहाँ पाइन्छ निशुल्क उपचार

बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।

एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित गोकर्णेश्वर हेल्थ कार्ड सुरू गरेको हो।  नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी यो सेवा सुरू गरेको औपचारिक जानकारी दिएको छ। सबै नागरिकलाई बीमामा आबद्ध गराउने अनि नि:शुल्क स्वास्थ्य उपलब्ध गराउने लक्ष्यका साथ अघि बढेको नगरपालिकाले बीमासँगै उपचारलाई सहज बनाउने यस्तो कार्डको व्यवस्था गरेको हो।

गोकर्णेश्वर नगरपालिको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने नगरप्रमुख दीपककुमार रिसालले दाबी गरे। स्वास्थ्य सेवामा जोडिने सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरु, समन्वय र सुपरीवेक्षण गर्ने वडा कार्यालय एवम् नगरपालिकाले तोकेका सरोकारवालाहरुलाई एकीकृत प्रकृतिले जोडेर सहज सेवा दिने दाबी प्रमुख रिसालको छ।  

 

एक पालिका स्वास्थ्य प्रणाली र मोडल बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टीकृत युनिक हेल्थ आईडीको सहयोगबाट सुरक्षित राख्दै जानेगरी यो कार्डबाट एकीकृत तथ्यांकसमेत राख्न थालिएको उनले बताए। त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड ‘क्युआर कोड’मार्फत् बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी निर्माण भएको यसका निर्माणकर्ता डाक्टर सुवास प्याकुरेलले बताए। ‘गोकर्णेश्वर हेल्थ कार्ड’ विस्तृत परिकल्पना गरी समग्र नगरको स्वाथ्यमा दीर्घकालीन लगानी गर्नसक्ने सिस्टम तयार गरिएको प्रमुख रिसालको भनाइ छ। 

यो कार्डमार्फत् स्वास्थ्यस्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तप्काजस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, खेलाडी, शिक्षक, रोग मुताविकका बिरामीलगायतलाई फरक–फरक कलर कोडिङ गर्न सकिने छ। यो प्रणालीले नगरपालिकाको स्वास्थ्यसेवा प्रवाह र नीति निर्माणलाई तथ्यांकपरक तरिकाले व्यवस्थित गर्ने छ।

स्वास्थ्य संस्थाको जिम्मेवारी तहअनुसारको विशेषता लिएर आफ्नो सेवा प्रवाह र त्यसको रेकर्ड राखी त्यसलाई एकीकृत गर्न सक्ने हुँदा बैंकहरूले सेवाग्राहीलाई सेवा सहज बनाएजसरी स्वास्थ्य सेवा दिइने छ। नगर अस्पतालबाट एकीकृत रुपमा उत्कृष्ट सेवा दिइरहेको र त्यसलाई अझै व्यवस्थित गर्न हेल्थ कार्ड ल्याइएको उनले दाबी गरे।

हेल्थ कार्डमा एकपटक जोडिएपछि सबै नागरिकको उपचारदेखि उनीहरुको सबै विवरण एकीकृत रुपमा हुने भएकाले उपचार गर्न र नगरपालिकाले सहयोग गर्न पनि सहज हुने उनको दाबी छ। नगरपालिकाले तथ्याक बनाउनदेखि नीति बनाउनसम्म पनि यो कार्डले सहयोग गर्ने बताइएको छ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update