Public Pana
बाँसबारी जग्गा काण्डमा विनोद चौधरीको बयान लिइदै

काठमाडाै- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । साेही निर्देशन बमोजिम सांसद विनोद चौधरीको पनि सीआईबीले बयान लिने तयारी गरेकाे हाे । 
बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । तर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भनेपछि उनीहरु रिहा भएका थिए ।


सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update