Public Pana
प्रा सुवेदीले पठाएको मस्यौदा मसँग अझै  सुरक्षित छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तर्राष्ट्रिय कानुनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन्।

शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

आफू पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतको भ्रमणमा जानु अघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझै सुरक्षित रहेको बताए। 

 

‘मेरो भ्रमणपछि सन्धि पुनरवलोकनको कुरा  संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा सूर्य सुवेदी पनि हुनुहुन्छ। प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरवलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले  लागू पनि गर्‍यौं। तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं।’

प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। लक्ष्य प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको बताइन्। विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने बताइन्।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाई रहेको बताए। ‘हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो,’ उनले भने।   शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्‍यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन। हामीले  निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र  अगाडी बढ्नु पर्छ।’

उनले प्रा सुवेदीले आफूसँग भएका अन्तर्राष्ट्रिय कानुनसम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे। लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा  सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफंले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफू सधैं तत्पर रहेको बताए।

पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेलले लेखेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो। कार्यक्रमको सञ्चालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update