Public Pana
दीपेश पुनलाई सुप्रिम सहकारी ठगीमा  पनि मुद्दा दायर हुने , रुपन्देही लगियाे

पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालयले पुनलाई विमानमा रुपन्देही पठाएको हो। 

जिबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका छन्। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्। 

उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि पुनविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। 

 

यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको थियो। उनीसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको थियो।

१० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको उजुरी परेको रुपन्देहीका एसपी रंजित सिंह राठौरले बताए। 

प्रहरीले थप उजुरी गर्न समेत सूचना जारी गरेको थियो।

सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्।

उनीहरुलाई हिरासतमा राखेर रुपन्देही प्रहरीले अनुसन्धान गरिरहेको छ। यही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले समेत ऋण लिएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका सञ्चालक रहेका जिबी राई यो सहकारीका पनि संस्थापक एवं संरक्षक हुन्।

उनी भने हाल फरार रहेका छन्। उनी मलेसियामा रहेको सूचनापछि प्रहरीले कुटनीतिक नियोगमार्फत पत्र पठाउँदै उनलाई नेपाल डिपोर्ट गरिदिन अनुरोध गरेको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update