Public Pana
एनआरएनएको निर्वाचनमा त्रुटि देखियो : छानबिन समिति

काठमाडाै- गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोबरमा सम्पन्न निर्वाचनबारेको विवादका साथसाथै लेखा तथा काम कारबाहीको सम्बन्धमा छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । 
महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठित समितिले उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन  बुझाएकाे हाे  ।

प्रतिवेदनमा संघको  निर्वाचन त्रुटिपूर्ण भएको उल्लेख गरिएको छ । निर्वाचन त्रुटिपूर्ण भएकाले उपयुक्त निकास निकाल्न समितिले राय दिएको छानबिन समितिका एक अधिकारीले जानकारी दिए । 

ती अधिकारीका अनुसार चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा निस्केको निचोडसँगै मिल्दोजुल्दो निष्कर्ष प्रतिवेदनले पनि निकालेको छ । 

ब्युरोको रिपोर्टमा  संघको निर्वाचनबारे प्रश्न उठाइएको थियो । सीआईबीले अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’ बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । 

गत कात्तिक ३ गते मध्यराति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षमा प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठलाई उछिन्दै डा बद्री केसी विजयी भएका थिए ।

तर, उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । सो पछि महेश समेतको समर्थनमा केसीविरुद्ध शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर गतिविधि हुँदै आएको छ ।

विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन भएको थियो । समितिले झण्डै डेढ महिना लगाएर अनुसन्धान प्रतिवेदन दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update